वीरगञ्ज, ५ वैशाख — सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले आफ्नो १९औं स्थापना दिवस २०८३ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा स्थित गण मुख्यालय परिसरमा आयोजित उक्त कार्यक्रम सशस्त्र प्रहरी नं. १३ गण हे.क्वा. पर्साको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्सा, वीरगञ्जको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय सर्वसाधारणको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत २६ जना सशस्त्र प्रहरी कर्मचारी तथा १२ जना सर्वसाधारण गरी कुल ३८ जनाले रक्तदान गरेका छन्।
सशस्त्र प्रहरी बलले स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत मानव जीवन बचाउन सहयोग पुग्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।
उक्त कार्यक्रमले समुदायसँगको सम्बन्ध सुदृढ बनाउनुका साथै आपतकालीन अवस्थामा आवश्यक पर्ने रगत आपूर्ति सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
यस सम्बन्धमा जानकारी दिँदै सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।
