निर्वाचन आयोगको अपिल : फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह

समाचार

काठमाडौं, कार्तिक २६।
निर्वाचन आयोग, नेपालले मिति २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने सबै नेपाली नागरिकलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नका लागि मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन हार्दिक अपिल गरेको छ।

आयोगका अनुसार, हाल नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा नहुने व्यक्तिहरूले निर्वाचन सम्पन्न भएपछि मात्र नाम दर्ता गर्न सक्नेछन्। तर, सो मितिसम्म १८ वर्ष पूरा हुने सबै नागरिकले तत्काल नाम दर्ता गराउनुपर्ने आयोगले जनाएको छ।

नाम दर्ता स्थलहरूमा सेवाग्राहीको अत्यधिक चाप देखिएको कारण व्यवस्थापनका लागि आयोगले विशेष व्यवस्था मिलाएको छ। दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेको जिल्लाहरूमा ६/६ घण्टाका दुई सिफ्टमा (कुल १२ घण्टा) सेवा प्रदान गर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

यसका लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत थप १४ जना दर्ता कर्मचारी खटाइएका छन्। अन्य जिल्लाहरूमा सेवाग्राहीको चापका आधारमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत अतिरिक्त जनशक्ति खटाउन गृह मन्त्रालयसँग पत्राचार गरिएको आयोगले जनाएको छ।

उक्त जानकारी आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *