पर्सा, ८ पुस ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै पर्सा प्रहरीले अवैध गाँजा खेतीविरुद्ध कडा कारबाही गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमान्डमा खटिएको विशेष टोलीले मिति २०८२ साल पुस ८ गते जिल्ला पर्सा, बहुदरमाइ नगरपालिका वडा नम्बर १ मा अवैध रूपमा गरिएको गाँजा खेती नष्ट गरेको हो। प्रहरीले करिब १.५ कट्ठा क्षेत्रफलमा रोपिएका झन्डै एक हजार गाँजाका बोटहरू उखेलेर नष्ट गरेको जनाएको छ।
प्रहरीका अनुसार लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्राप्त विशेष सूचनाका आधारमा उक्त क्षेत्रमा छापा मारिएको थियो। स्थानीय खेतबारीमा लुकीछिपी रोपिएको गाँजा खेती फेला परेपछि तत्कालै बोटहरू उखेलेर नष्ट गरिएको हो। साथै, अवैध खेतीमा संलग्न व्यक्ति वा समूहको पहिचान गर्ने कार्य भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी उपरीक्षक पाठकले लागूऔषधको अवैध खेती, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि प्रहरी निरन्तर सक्रिय रहेको बताए। उनले यस्ता गैरकानुनी गतिविधिले समाजमा गम्भीर नकारात्मक असर पार्ने भएकाले यसको अन्त्यका लागि स्थानीयवासीको सहयोग अत्यन्त आवश्यक रहेको उल्लेख गरे।
स्थानीयवासीहरूले प्रहरीको सक्रियता र तत्परताको प्रशंसा गर्दै अवैध गाँजा खेती नष्ट गरिनु सकारात्मक र स्वागतयोग्य कदम भएको प्रतिक्रिया दिएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले आगामी दिनहरूमा पनि लागूऔषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै जिल्लाभर कडाइका साथ निगरानी तथा कारबाही जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
