पर्सा, २० पुस।
पर्सा प्रहरीले श्रोत नखुलेको रु. १० लाख २ हजार १० रुपैयाँ बराबरको हुण्डी रकमसहित तीन जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा मिति २०८२।०९।१८ गते जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत प्रहरी चौकी पाण्डेपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका–३ गडैयाटोलस्थित सडकखण्डबाट हुण्डी कारोबारमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने वर्ष २२ का पवन कुमार साह, वर्ष ३० का मुस्ताक अन्सारी र वर्ष १९ का रामपुकार पासवान रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट श्रोत नखुलेको नगद रु. १०,०२,०१० (अक्षरेपी दश लाख दुई हजार दश रुपैयाँ) तथा ना.१६ प ३०२० नम्बरको NXG स्प्लेन्डर मोटरसाइकल बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा मुद्दा दर्ता गरी सम्मानित पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार अवैध हुण्डी कारोबार नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई अझ कडा बनाइने छ।
