पर्सा, २० पुस।
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले सामाजिक उत्तरदायित्व अन्तर्गत एक विपन्न परिवारलाई न्यानो कपडा तथा खाद्यान्न सामग्री सहयोग प्रदान गरेको छ।
आइतबार साँझ ५:३० बजेको समयमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२८ बगही निवासी अन्दाजी ३६ वर्षीय मन्सी पटेलको निवासमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक (सप्रउ) पुरन चन्द्र भट्टको नेतृत्वमा टोलीले भेटघाट गरी सहयोग सामग्री वितरण गरिएको हो। मन्सी पटेल मधेश आन्दोलनका ‘जिउँदो शहिद’का रूपमा परिचित रहनुभएको छ।
कार्यक्रमका क्रममा गणपति सप्रउ भट्टले मन्सी पटेल र उहाँको परिवारको अवस्थाबारे जानकारी लिँदै जाडो मौसममा न्यानो कपडा (कम्बल) तथा दैनिक जीवनयापनमा सहयोग पुग्ने खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभयो। जाडो बढ्दो क्रममा विपन्न तथा संघर्षशील परिवारलाई राहत पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको गणले जनाएको छ।
यसै अवसरमा विभिन्न व्यक्तिहरू तथा संघ–संस्थाको सहयोगमा निर्माण भएको मन्सी पटेलको घरमा आवश्यक विद्युत् वाइरिङ्ग कार्य सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले गरिदिने प्रतिबद्धता व्यक्त गरेको छ। यसले परिवारको दैनिक जीवन सहज बनाउनुका साथै सुरक्षित आवासको सुनिश्चिततामा सहयोग पुग्ने विश्वास लिइएको छ।
गणपति सप्रउ पुरन चन्द्र भट्टले सशस्त्र प्रहरी बल केवल सुरक्षा निकाय मात्र नभई सामाजिक सेवामा पनि सदैव अग्रसर रहने बताउँदै समाजका पीडित, विपन्न र योगदान दिएका व्यक्तिहरूको साथमा उभिनु आफ्नो कर्तव्य भएको उल्लेख गर्नुभयो। स्थानीयवासीहरूले सशस्त्र प्रहरी बलको यस मानवीय पहलको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा गरिएको यस सहयोग कार्यक्रमले सुरक्षा निकाय र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको
