जनकपुरधाम,२० पुस ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले प्रदेशका केही जिल्लाका विभिन्न स्थानमा धार्मिक, जातीय विभेद तथा सामाजिक सद्भाव र सहिष्णुतामा असर पुग्ने किसिमका गतिविधि देखिन थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सबै नागरिकलाई शान्त, संयमित र जिम्मेवार रहन आग्रह गरिएको छ। साथै, अफवाह, भ्रामक सूचना तथा उत्तेजक सामग्रीप्रति विश्वास नगर्न र यस्ता सामग्रीको प्रचार–प्रसार नगर्नसमेत अनुरोध गरिएको छ।
प्रदेश सरकारले सामाजिक सद्भाव, आपसी सम्मान र सहिष्णुता कायम राख्न सबै पक्षको सक्रिय सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रशासन वा सुरक्षा निकायलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ।
विज्ञप्तिमा प्रदेश सरकार शान्ति, सुरक्षा र सद्भाव कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ। उक्त विज्ञप्तिमा गृह, सञ्चार तथा कानून मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालको हस्ताक्षर रहेको छ।
