पर्सा, फागुन १०।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पर्सा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार नन्दू श्रीवास्तवले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ स्थित शोलखपुर टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
निर्वाचन प्रचार–प्रसारलाई तीव्र बनाउने क्रममा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार श्रीवास्तवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै आफ्नो प्रतिबद्धता र योजनाबारे जानकारी गराएका थिए। घरदैलोका क्रममा उनले विकास, सुशासन, रोजगारी सिर्जना तथा स्थानीय समस्याको दीर्घकालीन समाधान आफ्नो प्रमुख प्राथमिकता रहेको बताए।
कार्यक्रममा स्थानीय बासिन्दाले विभिन्न समस्या, आवश्यकता तथा सुझाव प्रस्तुत गरेका थिए। मतदाताको चासो र अपेक्षा सुन्दै श्रीवास्तवले आफू निर्वाचित भएमा जनताको विश्वासलाई सम्मान गर्दै जनमुखी कार्यमा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो कार्यक्रममा राप्रपाका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले घरघरमा पुगेर पार्टीको नीति, कार्यक्रम तथा उम्मेदवारको एजेन्डाबारे जानकारी गराएका थिए।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार श्रीवास्तवले आफ्नो घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छन्। स्थानीय स्तरमा जनसम्पर्क बढाउँदै मतदाताको विश्वास जित्ने उद्देश्यले विभिन्न टोल तथा बस्तीमा कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ।
