कमान्ड सम्हालेसँगै सशस्त्रका एसपी क्षेत्रीको तस्करीविरुद्ध कडा कारबाही,१५ लाखभन्दा बढी मूल्यको सामान र अटो बरामद

समाचार

रसीद आलम,बिरगंज, २० माघ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका नवनियुक्त सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीले कार्यभार सम्हाले लगत्तै तस्करी नियन्त्रणमा कडा प्रहार गरेका छन्। कमान्ड सम्हालेको दुई दिनमै सशस्त्र प्रहरी बल पर्साले करिब १५ लाख ५ हजार १ सय रुपैयाँ बराबरको अवैध सामान र एउटा अटो बरामद गरी भन्सार दाखिला गरेको छ।

एसपी क्षेत्रीले माघ १८ गते औपचारिक रूपमा गणको कार्यभार सम्हालेसँगै सीमा क्षेत्रमा बढ्दो तस्करी र भन्सार छलीका गतिविधिविरुद्ध सशक्त अभियान सुरु गरेका हुन्। त्यसैक्रममा मिति २०८२।१०।१९ गते सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–१४ स्थित गण्डक चोकमा सवारी तथा पैदल यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको रु. ५,११,१०० बराबरको लत्ताकपडा बरामद गरेको हो।

त्यसैगरी, वीरगंज महानगरपालिका–१६ इनर्वा लगायतका विभिन्न सीमा इलाकाहरूमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंजबाट खटिएको टोलीले भारतबाट विभिन्न सवारी साधनमा लुकाइछिपाई ल्याइँदै गरेको रु. ५,९६,००० बराबरको कपडा, मोबाइल पार्ट्स, पैसा गन्ने मेसिन, ग्यास पार्ट्स तथा मोटर पार्ट्स बरामद गरेको छ। साथै, तस्करीमा प्रयोग गरिएको रु. ४,००,००० मूल्य बराबरको एउटा अटो समेत नियन्त्रणमा लिइएको छ।

बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
यस सम्बन्धमा जानकारी दिँदै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) मोहनराज निरौलाले सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि निगरानी कडा पारिएको बताएका छन्।

यसअघि पर्सामा कार्यरत एसपी पुरन चन्द्र भट्टले तस्करी सञ्जाल ध्वस्त पार्दै सीमा सुरक्षामा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। उनको सरुवापछि सशस्त्र प्रहरी पर्साको जिम्मेवारी सम्हाल्न आएका एसपी मोहन बहादुर क्षेत्रीले पदभार ग्रहण गरेसँगै तस्करी नियन्त्रण, सीमावारपार अपराध न्यूनीकरण तथा आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै शान्ति सुरक्षाको व्यवस्था थप मजबुत बनाउने कार्यलाई तीव्रता दिएका छन्।

सीमा क्षेत्रमा अवैध कारोबार, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बल पर्साले नियमित गस्ती, चेकपोष्ट तथा विशेष निगरानीलाई अझ प्रभावकारी बनाउने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *