पर्सा, २० माघ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा प्रहरी उपरीक्षक बस्नेतले कार्यालयको मेस, ब्यारेक तथा कार्यसम्पादन प्रणालीको स्थलगत अवलोकन गर्दै सम्पूर्ण प्रहरी कर्मचारीलाई आफ्नो पदीय जिम्मेवारीप्रति दत्तचित र व्यावसायिक भई कार्य सम्पादन गर्न निर्देशन दिएका छन्। साथै, सवारी दुर्घटना न्यूनीकरणका लागि स्पष्ट योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्न उनले जोड दिएका छन्।
ब्रिफिङका क्रममा उनले प्रहरी आचरण विपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुन, जनतामैत्री सेवा प्रवाहलाई प्राथमिकता दिन तथा संगठनको गरिमा र श्रेय वृद्धि हुने गरी लगनशीलताका साथ कार्य गर्न निर्देशन दिए।
उनले अनुशासन, पारदर्शिता र जवाफदेहितामार्फत ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै सडक सुरक्षामा सकारात्मक परिणाम ल्याउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
