नेपाल–भारत सीमावर्ती सुरक्षा समन्वय बैठक सम्पन्न, निर्वाचन र सीमा अपराध नियन्त्रणमा संयुक्त प्रतिबद्धता

समाचार

पर्सा, १० फागुन ।
आगामी मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

मिति २०८२ फागुन ९ गते पर्सा जिल्लामा आयोजित उक्त बैठकमा पर्सा र बारा जिल्लाका सुरक्षा निकायका उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो भने भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण र पश्चिमी चम्पारण जिल्लाका सुरक्षा निकायका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने, अवैध गतिविधि नियन्त्रण गर्ने, शंकास्पद व्यक्तिको निगरानी बढाउने तथा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो।

यसैगरी, खुला सीमाको दुरुपयोग गरी हुन सक्ने अवैध आवतजावत, हतियार तथा लागुऔषध ओसारपसार, आपराधिक गतिविधि लगायतका कार्यलाई नियन्त्रण गर्न संयुक्त रूपमा निगरानी बढाउने, सूचना आदान–प्रदानलाई तीव्र बनाउने तथा आवश्यक परेको अवस्थामा संयुक्त गस्ती र समन्वयात्मक कारबाहीलाई प्राथमिकता दिने सहमति भएको बैठकमा जनाइएको छ।

बैठकले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्दै निर्वाचनलाई निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउने दिशामा नेपाल र भारतका सुरक्षा निकायबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
स्थानीय प्रशासन तथा सुरक्षा निकायले निर्वाचन अवधिभर सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा योजना लागू गरिने तथा कुनै पनि प्रकारका अवैध तथा आपराधिक गतिविधिलाई कडाइका साथ नियन्त्रण गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *