काठमाडौँ, १२ फागुन ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे बालुवाटारमा उच्चस्तरीय समीक्षा बैठक सम्पन्न भएको बताएकी छन्।
प्रधानमन्त्री कार्कीका अनुसार आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत छलफल तथा समीक्षा गरिएको हो। बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थाको अवस्था तथा सम्भावित चुनौती र जोखिमका विषयमा गम्भीर छलफल भएको थियो।
प्रधानमन्त्री कार्कीले हालको सुरक्षा व्यवस्थामा शंका गर्नुपर्ने कुनै ठाउँ नरहेको स्पष्ट पार्दै सम्भावित चुनौतीलाई मध्यनजर गर्दै आवश्यक सतर्कता, कडा निगरानी तथा प्रभावकारी समन्वयका साथ सम्पूर्ण सुरक्षा संयन्त्र परिचालित गरिएको जानकारी दिइन्।
उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै यसका लागि कुनै कसर बाँकी नराखिने उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले सम्पूर्ण नागरिकलाई ढुक्क र निर्भय भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आह्वान समेत गरिन्।
सरकारले निर्वाचनलाई विश्वसनीय, सुरक्षित र मर्यादित बनाउन सुरक्षा निकायबीच समन्वयलाई थप प्रभावकारी बनाइएको जनाएको छ।
