निर्वाचन प्रचारप्रसार निषेध अवधिमा कडाइ गर्न गृह मन्त्रालयलाई आयोगको निर्देशन,मादक पदार्थ बिक्री–वितरणमा प्रतिबन्ध।

समाचार

काठमाडौं, फागुन १४।निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधिमा आचारसंहिता उल्लङ्घन हुन नदिन कडा निगरानी र आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। आयोगले विज्ञप्ति जारी गर्दै फागुन १८ गते राति १२ बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गराउन आग्रह गरेको हो।

आयोगले गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिन र जिल्ला आचारसंहिता अनुगमन समितिलाई सक्रिय रूपमा परिचालन गर्न अनुरोध गरेको छ। निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ अनुसार निषेधित गतिविधिमा संलग्नलाई तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन भनिएको छ।

मादक पदार्थ बिक्री–वितरणमा प्रतिबन्ध
आयोगले मतदानको मितिभन्दा ७ दिनअघि देखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाउन आग्रह गरेको छ। यसबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पुग्ने आयोगको विश्वास छ।

मतदानको दिन सवारी सञ्चालनमा रोक
आयोगले मतदानको दिन अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा प्रतिबन्ध रहनेछ।
तर, निम्न सवारीसाधनलाई भने सञ्चालनको अनुमति दिइनेछः
एम्बुलेन्स, दमकल, शववाहन
रक्तसञ्चार सेवाका सवारीसाधन
सुरक्षा निकायका सवारीसाधन
विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन
कूटनीतिक नियोगका सवारीसाधन

आयोग वा प्रशासनबाट पास प्राप्त गरेका सवारीसाधन
हवाई उडान भने यथावत् सञ्चालन हुने
आयोगले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू भने नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। टिकट भएका यात्रुहरूले निजी वा सम्बन्धित एयरलाइन्सद्वारा उपलब्ध गराइएका सवारी प्रयोग गरी विमानस्थल आवतजावत गर्न सक्ने व्यवस्था मिलाइनेछ।

मतदानका लागि आवश्यक परिचयपत्र अनिवार्य
मतदाताले मतदान गर्न जाँदा निम्नमध्ये कुनै एक आधिकारिक परिचयपत्र साथमा लैजानुपर्ने व्यवस्था गरिएको छः
मतदाता परिचयपत्र
नेपाली नागरिकताको प्रमाणपत्र
राष्ट्रिय परिचयपत्र
राहदानी
सवारी चालक अनुमति पत्र
जग्गाधनी प्रमाणपूर्जा
नामावलीमा नाम भएका मतदाताले यीमध्ये कुनै एक कागजात पेश गरेपछि मतदान गर्न पाउने आयोगले जनाएको छ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन सबै पक्षलाई आचारसंहिता पालना गर्न तथा सम्बन्धित निकायहरूलाई प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *