पर्सा, ११ वैशाख ।जिल्ला प्रशासन कार्यालय पर्सा ले सीमावर्ती क्षेत्रबाट हुने सम्भावित अवैध घुसपैठ नियन्त्रण गर्न विशेष निगरानी अभियान सुरु गरेको छ। राष्ट्रिय सुरक्षा र अमन–चयन सुदृढ गर्ने उद्देश्यले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मिति २०८३/०१/१० गतेदेखि यो अभियान कार्यान्वयनमा ल्याइएको हो।
प्रशासनका अनुसार, धार्मिक, सामाजिक तथा आर्थिक उद्देश्य बोकी विदेशी नागरिकहरू अवैध रूपमा प्रवेश गर्ने जोखिमलाई मध्यनजर गर्दै सीमानाकामा कडाइ गरिएको हो। नेपाल प्रवेश गर्ने सबै विदेशी यात्रुहरूको पासपोर्ट र भिसा अनिवार्य रूपमा जाँच गरिनेछ भने उनीहरूको सम्पर्क नम्बर सहितको विस्तृत विवरण संकलन गरी अभिलेखीकरण गरिनेछ।
यो कार्य अध्यागमन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सा को संयुक्त टोलीले सीमानाकास्थित चेकपोष्टमै सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
प्रशासनले सर्वसाधारण, सीमावर्ती क्षेत्रका बासिन्दा तथा व्यवसायीहरूलाई विशेष सहयोग गर्न अपिल गर्दै शंकास्पद विदेशी नागरिक देखिएमा नजिकैको प्रहरी वा सशस्त्र प्रहरीलाई तत्काल जानकारी दिन आग्रह गरेको छ। साथै, सीमानाकामा खटिएका सुरक्षाकर्मीहरूलाई विवरण संकलनमा सहयोग गर्न र अवैध आवतजावतसम्बन्धी सूचना निडर रूपमा प्रशासनसमक्ष पुर्याउन पनि अनुरोध गरिएको छ।
प्रमुख सहायक जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी अपिलमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सबै पक्षसँग सहकार्य र समन्वय गर्न आग्रह गरिएको छ। प्रशासनले अवैध गतिविधि नियन्त्रण र सीमा सुरक्षा मजबुत बनाउन नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको जनाएको छ।
