रसीद आलम,बिरगंज ,१२ जेठ ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी आशवारीको सन्युक्त टोलिले लागूऔषध चरेस सहित एक जना ब्यक्तिलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान १०:३० मा फुलवरिया देखि मुरलीगाउँ तर्फ उतर दक्षिण नहरको बाटोमा लागु औषध ओसार पसार भैरहेको विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी आशवारीबाट पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमान्डमा खटिएको सन्युक्त प्रहरी टोलीले पर्सा कालिकामाई गाउँपालिका वडा नं.१ स्थित नहर सडक खण्डमा शंकास्पदरूपमा आएका BR22AT 8498 नम्बरको मोटरसाइकल रोकी मोटरसाइकलमा सवार जिल्ला पर्सा कालिकामाई गा.पा.वडा नं.१ बस्ने प्रेम पासवानको छोरा वर्ष २१ को अनिल पासवानलाई चेकजाँच गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई राखिएको लागु औषध चरेश २० प्याकेट प्रति प्याकेट ५०० ग्रामका दरले जम्मा १० के.जी.लागु औषध चरेश फेला परेको हुँदा उल्लेखित लागु औषध तथा BR22T 8498 नम्बरको मोटरसाइकल बरामद गरी निज पासवानलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।
लागु औषध चरेससहित पक्राउ परेका पासवानलाई ईलाका प्रहरी कार्यालय पोखरियामा राखेर थप अनुसन्धान भइरहेको पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीको बताएका छन् ।
