रसुवा, ७ जेठ ।
रसुवामा प्रहरीले ठूलो परिमाणमा अवैध भेप (विद्युतिय चुरोट) बरामद गर्दै ८ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा मिति २०८३ जेठ ७ गते बिहान करिब १ः३० बजे इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट खटिएको प्रहरी टोलीले गोसाईकुण्ड गाउँपालिका–१ दालफेदीस्थित मम्माया तामाङको घरमा छापा मारेर १२२५ थान भेप बरामद गरेको हो।
प्रहरीले घरभित्र प्लास्टिकको बोरा तथा ६ वटा कार्टुनमा लुकाइछिपाइ राखिएको अवस्थामा ELFBAR ICE KING (30K Puffs) लेखिएको भेप फेला पारेको जनाएको छ। बरामद गरिएको भेपको अनुमानित मूल्य करिब रु. ३६ लाख ७५ हजार रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रसुवा, धादिङ, बाजुरा, नुवाकोट र ओखलढुंगाका गरी ८ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा मम्माया तामाङ, राजकुमार तामाङ, छो माया तामाङ, केश बहादुर गुरुङ, सहिन गुरुङ, सागर खत्री, सुबास तामाङ तथा नेत्र बहादुर थापा मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता प्रहरी निरीक्षक राजु शाहका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
नेपालमा पछिल्लो समय युवामाझ भेपको प्रयोग बढ्दै गएपछि प्रहरीले अवैध आयात तथा बिक्री वितरण नियन्त्रण अभियानलाई तीव्र बनाएको जनाएको छ।
