वीरगञ्ज, जेठ १९ ।लिखतसम्बन्धी कसुर मुद्दाका प्रतिवादी रहेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा मेयर सिंहलाई मंगलवार बिहान करिब ६:०७ बजे पर्साको ठोरी गाउँपालिका–३ स्थित ठोरी रिसोर्टबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका सिंह पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–३ निवासी ५६ वर्षीय हुन्। उनीविरुद्ध दर्ता रहेको लिखतसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार पक्राउ परेका सिंहमाथि लिखतसम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
