रसीद आलम
बारा, १५ वैशाख — बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बर पुल नजिकै सवारी दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्।
सोमबार बिहान करिब ३:३० बजे पोखराबाट रौतहटतर्फ जाँदै गरेको ग १ ख ११५४ नम्बरको बसलाई काकडभिट्टाबाट पोखरा जाँदै गरेको ग २ ख १६५५ नम्बरको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित बनेको ग २ ख १६५५ नम्बरको बस पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ५१८७ नम्बरको बिग्रिएको कोइला लोड ट्रकमा ठोक्किएको थियो। त्यसपछि बस सडकबाट ५ मिटर तल खसेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय अम्लेखगञ्जबाट प्रहरी टोली खटिएको थियो। दुर्घटनामा घाइते भएका सबै यात्रुहरूलाई उद्धार गरी विभिन्न अस्पतालहरूमा उपचारका लागि पठाइएको छ।
घटनास्थलमा सबै सवारी साधनहरू रहेको र एकतर्फी सडक सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ग १ ख ११५४ नम्बरको बस र चालक चितवन, राप्ती नगरपालिका–३ का ४७ वर्षीय तिलकबहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइतेहरूको अवस्था मध्यम रहेको र उनीहरूलाई हेटौँडा सामुदायिक अस्पताल र स्थानीय अकलबहादुर कार्की अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको विवरण यसप्रकार छः
- रवि कुमार ताम्राकार (कास्की) — मुखमा चोट
- बासुदेव अधिकारी (कास्की) — दुबै खुट्टामा चोट
- अनिल कुमार बस्नेत (तनहुँ) — बायाँ खुट्टामा चोट
- राजेन्द्र सुनुवार (इलाम) — टाउकोमा चोट
- खर्क सिंह तुम्वापो (पाँचथर) — नाकमा चोट
- विलास दास (भारत, भङकुरा) — निधार र दुबै हातमा चोट
- रबिन्द्र माझी (सप्तरी) — मुखमा चोट
- भरत ईश्वर (सप्तरी) — मुख र छातीमा चोट
- बुद माया यावु (पाँचथर) — बायाँ खुट्टामा चोट
- पुष्पा वली (सल्यान) — टाउकोमा चोट
- मनिषा राई (इलाम) — टाउको र मुखमा चोट
- निशा लिम्बु (झापा) — मुखमा चोट
- अनुराग खड्का (दोलखा) — टाउको र दुबै हातमा चोट
- रेशम थापा (भारत, सिलोङ) — टाउको र दाहिने खुट्टामा चोट
- सागर क्षेत्री (ठेगाना नखुलेको) — मुख र बायाँ हातमा चोट
- दलबहादुर राई (इलाम) — निधारमा चोट
- तेजबहादुर राई (इलाम) — अनुहार र दाहिने खुट्टामा चोट
- सञ्जीव राई (ठेगाना नखुलेको) — गाला र शरीरमा चोट
- टेकबहादुर राई (खोटाङ) — टाउको र अनुहारमा चोट
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
