बारा, बैशाख १५। बारा जिल्लामा प्रहरीले अवैध रूपमा सञ्चालनमा रहेका मदिरा भट्टीहरूमा छापा मारेर ठूलो परिमाणमा कच्चा मदिरा तथा उत्पादन सामग्री नष्ट गरेको छ।
आन्तरिक राजस्व कार्यालय सिमरा बाराका कर अधिकृत टंक भुसाल र इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको संयुक्त टोलीले आइतबार अपराह्न १ बजेदेखि २:४५ बजेसम्म कारवाही गरेको हो।
प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ स्थित सागर चोक नजिक, राम मन्दिर चोक नजिक तथा वडा नं. २२ को २ नं पुल आसपास सञ्चालित ३ वटा अवैध भट्टीमा छापा मारेको थियो।
कारवाहीका क्रममा प्रहरीले करिब ६८० लिटर कच्चा मदिरा (अन्दाजी बजार मूल्य ४० हजार ८ सय रुपैयाँ) र मदिरा उत्पादनमा प्रयोग हुने साना–ठूला गरी ९ वटा सिलभरजस्ता भाँडाहरू बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
प्रहरीले अवैध मदिरा उत्पादन र व्यापार नियन्त्रणका लागि यस्ता निगरानी तथा कारवाही अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताएको छ।
