धनकुटा, वैशाख १५।
वैशाख १३ गते शनिबार धनकुटाको बुढीमोरङमा आयोजित एक भव्य कार्यक्रमका बीच खानेपानी मन्त्री प्रदीप यादवले बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्नुभएको छ।
शिलान्यास समारोहमा मन्त्री यादवले संगुरीगढी गाउँपालिका वडा नं १ र २ का बासिन्दाहरूको दीर्घकालीन खानेपानीको सपना साकार पार्ने दिशामा सरकार दृढताका साथ अघि बढेको बताउनुभयो। उहाँले आयोजनाबाट घर–घरमा स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो।
“यो आयोजना केवल पूर्वाधार निर्माण मात्र नभई, जनताको सेवा र समृद्ध गाउँको परिकल्पनाको मूर्तरूप हो,” मन्त्री यादवले भन्नुभयो, “यसले यहाँको स्वास्थ्य, जीवनशैली र समृद्ध भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेछ।”
मन्त्री यादवले आयोजना सफल बनाउन सहयोग पुर्याएका सबै संघ–संस्था, प्राविधिक टोली तथा स्थानियवासीहरूलाई विशेष धन्यवाद दिनुहुँदै, शुद्ध पानीको प्रत्येक बूँदले उज्यालो भविष्य निर्माण गर्ने यात्रा स्थानीयसँगै अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो।
