नेपालको भूमि हुँदै आतंककारी भारत प्रवेश गरेको हल्ला निराधार : गृहमन्त्री लेखक

समाचार

वीरगञ्ज, १६ भदौ ।
गृहमन्त्री रमेश लेखकले नेपालको भूभाग हुँदै केही आतंककारी भारत प्रवेश गरेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

नेपाल प्रेस युनियनले सोमबार वीरगञ्जको दियालो लोर्डस होटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै मन्त्री लेखकले उक्त हल्ला आधारहीन भएको बताए।

“केही पाकिस्तानी नागरिक नेपाल हुँदै भारत प्रवेश गरेको भन्ने प्रचार पूर्णतया निराधार छ। ती व्यक्ति वास्तवमा मलेसिया गएको तथ्य प्रमाणित भएको छ,” उनले प्रस्ट पारे।

संविधान र लोकतन्त्रलाई कमजोर पार्ने गतिविधिप्रति सचेत रहनुपर्ने उल्लेख गर्दै मन्त्री लेखकले राजतन्त्र फर्काउने प्रयास भइरहे पनि सरकार त्यसविरुद्ध दृढ रहेको बताए। उनले कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारको १३ महिनाको कार्यकाल सफल रहेको दाबी गर्दै अर्थतन्त्र लयमा फर्किएको, शान्ति–सुरक्षा मजबुत भएको र सरकार स्थिरतामा पुगेको बताए।

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणोन्मुख रहेको जानकारी दिँदै उनले शनिवार तीनवटा अस्पतालमा बिरामी र चिकित्सकसँग प्रत्यक्ष संवाद गरेको उल्लेख गरे। “बिरामीले राम्रो उपचार पाइरहेका छन्, चिकित्सकहरूले सङ्क्रमण नियन्त्रणतर्फ गइरहेको बताएका छन्,” उनले भने। साथै, सङ्क्रमणको कारण पत्ता लगाउन विज्ञ टोली परिचालन गरिने जानकारीसमेत दिए।

अख्तियारले कुनै कार्यालयमाथि छानबिन गर्दा सम्बन्धित मन्त्रीले राजीनामा दिनुपर्ने माग तर्कसंगत नभएको भन्दै उनले प्रश्न गरे, “भिजिट भिसा दुरुपयोग गरेर अर्को देशको नागरिकता लिएर फर्किएका र मन्त्रीसम्म बनेका व्यक्तिहरूले मलाई राजीनामा माग्ने नैतिकता कहाँबाट आउँछ?”

सीमासम्बन्धी प्रश्नमा मन्त्री लेखकले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको दोहोर्याउँदै भने, “प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको अडान सही छ। नेपालको भूमि हाम्रो हो भन्नाले छिमेकीसँग सम्बन्ध बिग्रिँदैन। नेपालले आफ्नो भूमि कुनै मुलुकविरुद्ध प्रयोग हुन दिने छैन।”

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *