धनगढीमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ, शंकास्पद सामग्री बरामद

समाचार

धनगढी, कैलाली,२७ जेठ  । कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–५ सत्कार चोक नजिकबाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत घर भई हाल धनगढीको सत्कार चोक नजिक डेरा गरी बस्दै आएका २४ वर्षीय साहिल खान रहेका छन्।

प्रहरीका अनुसार मंगलबार राति करिब १०:२५ बजे विशेष सूचनाका आधारमा खान बस्दै आएको कोठामा खानतलासी गरिएको थियो। सो क्रममा कोठाबाट एक थान कटुवा पेस्तोल सहित विभिन्न शंकास्पद सामग्री बरामद गरिएको हो।

बरामद सामग्रीमा एक थान रेन्च, एक थान चाँदीको करुवा, चाँदीजस्तो देखिने घाँटीमा लगाउने दुई थान माला, दुई थान टर्चलाइट, एक थान फलामको रड, एक थान डिजिटल काटा तथा एक थान खुकुरी रहेका छन्।
प्रहरीले बरामद भएका सामग्रीको प्रकृति र प्रयोगबारे अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेका साहिल खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले अवैध हतियार तथा आपराधिक गतिविधि नियन्त्रण अभियानलाई तीव्र बनाएको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको कारबाहीबाट उक्त हतियारसहितका सामग्री फेला परेको जनाएको छ। अनुसन्धानपछि घटनासम्बन्धी थप विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *