वीरगञ्ज, २९ जेठ । अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना तोकिएपछि लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन पर्सा प्रहरीले सञ्चालन गरेको विशेष अभियान प्रभावकारी बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले एकै दिन विभिन्न मुद्दाका ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकको नेतृत्वमा सञ्चालन गरिएको फैसला कार्यान्वयन अभियान अन्तर्गत शुक्रबार विभिन्न स्थानमा खोजतलास तथा निगरानी बढाएर फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो।
पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतका अनुसार पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएका फैसला कार्यान्वयन गर्ने क्रममा कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले मिति २०८३ जेठ २९ गते ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा दाखिला गरिएको उनले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये जालसाजी, कुटपिट, लुटपाट, हानि नोक्सानी, बैंकिङ कसुर, चेक अनादर, करकाप, लेनदेन बिगो, सम्बन्ध विच्छेद, नाता कायम तथा गैरकानुनी साधारण सभा सञ्चालनजस्ता विभिन्न प्रकृतिका मुद्दाका प्रतिवादी रहेका छन्।
पक्राउ परेकामध्ये सबैभन्दा बढी जालसाजी मुद्दाका प्रतिवादी रहेका छन्। यस्तै कुटपिट तथा लुटपाट, बैंकिङ कसुर, चेक अनादर, सम्बन्ध विच्छेद र आर्थिक प्रकृतिका अन्य मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार पछिल्लो समय अदालतबाट फैसला भइसकेका तर कानुनी सजाय तथा जरिवानाबाट बच्न फरार रहेका व्यक्तिहरूको खोजीलाई प्राथमिकतामा राखिएको छ। सोही अभियानअन्तर्गत विभिन्न पालिका तथा जिल्लाका विभिन्न स्थानमा लुकीछिपी बसिरहेका प्रतिवादीहरूलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको थियो।
पक्राउ परेका व्यक्तिहरूमध्ये वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जिराभवानी गाउँपालिका, बिन्दवासिनी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, जगरनाथपुर गाउँपालिका लगायत पर्साका विभिन्न स्थानीय तहका बासिन्दा रहेका छन्। साथै बारा जिल्लाका एक प्रतिवादीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई अझ तीव्र बनाउने जनाएको छ। फैसला भएर पनि कार्यान्वयन हुन नसकेका मुद्दाहरूको संख्या घटाउने, अदालतको आदेश कार्यान्वयन सुनिश्चित गर्ने तथा कानुनको शासनलाई मजबुत बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीको भनाइ छ।
पर्सा प्रहरीका प्रमुख एसपी सुदीप राज पाठकले अदालतबाट दोषी ठहर भइसकेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको बताए। उनले फरार प्रतिवादी पक्राउ अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र अदालतको आदेश कार्यान्वयनमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे।
पर्सा प्रहरीको पछिल्लो सक्रियतासँगै फैसला कार्यान्वयनको दर बढ्दै गएको छ। एकै दिन ३२ जना फरार प्रतिवादी पक्राउ पर्नु जिल्लामा फैसला कार्यान्वयन अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले अदालतका निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र कानुनप्रति नागरिकको विश्वास थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पक्राउ परेकाहरु:-
१.) जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं. ०८ बस्ने मोहन प्रसाद कलवार (मुद्दा शिर्षक जालसाझि )
२.) जिल्ला पर्सा साविक बसडिलवा ३ बस्ने राम हजरा दुसाद (मुद्दा शिर्षक कुटपिट)
३.) जिल्ला पर्सा साविक उदयपुरघुर्मी ३ बस्ने जगदिश राउत अहिर (मुद्दा शिर्षक कुटपिट/लुटपिट)
४.) जिल्ला पर्सा साविक सिसर्वा ५ बस्ने चोकट साह तेलि (मुद्दा शिर्षक लुटपिट)
५.) जिल्ला पर्सा साविक निचुटा ६ बस्ने सैनुल चुहारीन (मुद्दा शिर्षक जालसाझि )
६.) जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने बसुदिन अंसारी (मुद्दा शिर्षक हानि नोकसानि)
७.) जिल्ला पर्सा साविक सुगौलि विर्ता ६ बस्ने तिलक पंडित कुम्हार (मुद्दा शिर्षक – जालसाझि )
८.) जिल्ला पर्सा साविक बस्नतुर ६ बस्ने लक्ष्मी साह कानु (मुद्दा शिर्षक – लुटपिट)
९.) जिल्ला पर्सा साविक ईनर्वासिरा ९ बस्ने कालिका सिंह राजपुत (मुद्दा शिर्षक गैरकानुनि साधारण सभाको कारवाहि)
१०.) जिल्ला पर्सा साविक निचुटा ३ बस्ने पुष्पराज कोईराला (मुद्दा शिर्षक जालसाझि )
११.) जिल्ला पर्सा साविक बिन्दवासनी ३ बस्ने सिमारेखा देवी बरैनि (मुद्दा शिर्षक – करकाप)
१२.) जिल्ला पर्सा बिन्दवासनी गाउँपालिका ३ बस्ने रामानन्द प्रसाद चौरसिया (मुद्दा शिर्षक जालसाझि )
१३.) जिल्ला पर्सा साविक प्रसौनि बिर्ता ४ बस्ने मन्तुल्ला अंसारी (मुद्दा शिर्षक – जालसाझि )
१४.) जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १८ बस्ने लिलावति देवी (मुद्दा शिर्षक सम्बन्ध बिच्छेद)
१५.) जिल्ला पर्सा साविक बैरिया बिर्ता ९ बस्ने गगनदेव मुखिया बिन (मुद्दा शिर्षक – जालसाझि )
१६.) जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने नवि उल्लाह अंसारी (मुद्दा शिर्षक जालसाझि )
१७.) जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने मोसलम खातुन (मुद्दा शिर्षक जालसाझि)
१८.) जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने नौसाद अंसारी (मुद्दा शिर्षक – जालसाझि )
१९.) जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं. ५ बस्ने रामजि साह रौनियार (मुद्दा शिर्षक जालसाझि )
२०.) जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १९ बस्ने जमिला खातुन तेलिन (मुद्दा शिर्षक सम्बन्ध बिच्छेद)
२१.) जिल्ला पर्सा साविक बागेश्वरि तित्रौना २ बस्ने ज्ञानि देवी अहिरिन (मुद्दा शिर्षक – सम्बन्ध बिच्छेद)
२२.) जिल्ला पर्सा साविक मसिहानि ५ बस्ने बसमति देवि मलाहिन (मुद्दा शिर्षक – जालसाझि )
२३.) जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ३ बस्ने सहनाज खातुन (मुद्दा शिर्षक – नाता कायम)
२४.) जिल्ला पर्सा साविक अलौ ५ बस्ने सुनिता देवी भन्ने अनिता देवी तेलिन (मुद्दा शिर्षक – जालसाझि )
२५.) जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २० बस्ने रमेश महरा (मुद्दा शिर्षक – लेनदेन बिगो)
२६.) जिल्ला पर्सा जिराभवानी गाँउपालिका वडा नं. ३ बस्ने पारसनाथ प्रसाद दास (मुद्दा शिर्षक बैंकिङ कसुर)
२७.) जिल्ला बारा फेटा गाउँपालिका वडा नं. ४ बस्ने बिरेन्द्र प्रसाद यादव (मुद्दा शिर्षक – चेक अनादर)
२८.) जिल्ला पर्सा जगरनाथपुयर गाउँपालिका वडा नं. ५ बस्ने नयनबती देवी (मुद्दा शिर्षक चेक अनादर)
२९.) जिल्ला पर्सा बिन्दवासनी गाउँपालिका वडा नं. ३ बस्ने जितेन्द्र कुमार चौरसिया (मुद्दा शिर्षक चेक अनादर)
३०.) जिल्ला पर्सा साविक भेडिहारी ७ बस्ने भरत हजरा (मुद्दा शिर्षक जालसाझि )
३१.) जिल्ला पर्सा पटेर्वासुगौली गाँउपालिका वडा नं. ०८ बस्ने जवाहिर खवास (मुद्दा शिर्षक जालसाझि )
३२.) जिल्ला पर्सा साविक पशुरामपुर २ बस्ने दुर्गा साह गोढ (मुद्दा शिर्षक लुटपिट)
