आध्यात्मिक जागृतिमार्फत विश्व नव निर्माणको सन्देश, वीरगञ्जमा क्षेत्रीय शुभारम्भ समारोह सम्पन्न

समाचार

वीरगञ्ज, ३० जेठ । ब्रह्माकुमारी राजयोग केन्द्रद्वारा आयोजित “आध्यात्मिक जागृतिद्वारा विश्व नव निर्माण क्षेत्रीय शुभारम्भ समारोह” वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

समारोहलाई सम्बोधन गर्दै उपप्रमुख आलमले ब्रह्माकुमारी राजयोग केन्द्रले समाजमा आध्यात्मिक चेतना अभिवृद्धि, नैतिक मूल्यको विकास तथा सकारात्मक जीवनशैली प्रवर्द्धनका लागि गर्दै आएका कार्यहरूको प्रशंसा गर्नुभयो। उहाँले राजयोग ध्यानले व्यक्तिलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार, अनुशासित र समाजप्रति उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले आध्यात्मिक शिक्षाले समाजमा शान्ति, सद्भाव र सकारात्मक सोचको विकास गर्न सहयोग पुर्‍याउने उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले विश्व मानव समुदायलाई एकताको सूत्रमा बाँध्न योगदान दिने विश्वास व्यक्त गर्नुभयो।

उपप्रमुख आलमले वीरगञ्ज महानगरपालिकाको तर्फबाट ब्रह्माकुमारी राजयोग केन्द्रका सामाजिक तथा आध्यात्मिक गतिविधिहरूमा आवश्यक सहयोग गर्न महानगरपालिका सधैं प्रतिबद्ध रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी, धार्मिक अगुवा, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले आध्यात्मिक जागृतिमार्फत सकारात्मक समाज निर्माण, नैतिक चेतनाको विकास तथा विश्व शान्तिको सन्देश प्रवाह गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।
समारोहले आध्यात्मिक चेतना, सामाजिक एकता र विश्व नव निर्माणको सन्देश प्रवाह गर्दै सहभागीहरूलाई सकारात्मक जीवनशैली अपनाउन प्रेरित गरेको आयोजकले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *