सशस्त्र प्रहरी पर्साले ई–लोडर, मोटरसाइकल र तामाका सामानसहित झन्डै १२ लाख बराबरको मालसामान भन्सार बुझायो

समाचार

वीरगञ्ज, असार १५ ।
सशस्त्र प्रहरी बल, नेपाल पर्साबाट खटिएको टोलीले करिब ११ लाख ६६ हजार ६ सय ९० रुपैयाँ बराबरको अवैध सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

मिति २०८२ असार १४ गते गुल्म बिरगंजका डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६, ईनर्वा नाकाबाट बोरामा प्याक गरिएको तामाको माने र त्यसमा प्रयोग गरिएको ई–लोडर सहित ५ लाख ८ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो। ती सामानहरू नेपालबाट अवैध रूपमा भारततर्फ निकासी गरिँदै थियो।

त्यसैगरी, सोही मितिमा खटिएको अर्को टोलीले रक्सौलबाट वीरगञ्जतर्फ ल्याइँदै गरेको मोटरसाइकलको विभिन्न भागहरूमा तथा भोज खाने पातामा लुकाइछिपाई ल्याइएको ४ लाख ६७ हजार रुपैयाँ बराबरको मोबाइल पार्ट्स र उक्त कार्यमा प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

यस्तै, असार १५ गते डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा सशस्त्र प्रहरी बल, गुल्म अलौबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–४, झौवा चोकबाट भारतबाट अबैध रूपमा भन्सार छलि ल्याइएको करिब १ लाख ९१ हजार ६ सय ९० रुपैयाँ बराबरको किराना सामान र मोटरसाइकल समेत नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो।

सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले उक्त जानकारी दिएका हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *