सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सवको अवसरमा सिरहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न।

समाचार

(५२२ जना स्थानीयले लिए स्वास्थ्य सेवा, मन्त्रीसहित विभिन्न निकायको सहभागिता)

रसीद आलम,सिरहा, असार १४ – सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सवको अवसरमा मधेश प्रदेश अन्तर्गत सशस्त्र प्रहरी परिवार महिला संघको पहलमा सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं. ३ स्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।

शिविरमा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण सेवा प्रदान गरिएको थियो। शिविरमा नाक, कान, घाँटी, सामान्य चिकित्सा, प्रसूति तथा स्त्री रोग, आँखा परीक्षण, हाड जोर्नी तथा नसारोग, र दाँतसम्बन्धी सम्पूर्ण जाँच तथा उपचार सेवा प्रदान गरिएको थियो।

स्वास्थ्य सेवा प्रदान गर्ने टोलीमा नेपाल ए.पि.एफ. अस्पताल काठमाडौं, छिन्नमस्ता फिल्ड अस्पताल बर्दिवास महोत्तरी, प्रादेशिक अस्पताल लहान र प्रादेशिक अस्पताल सिरहाका अनुभवी चिकित्सकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले गर्नु भएको थियो। उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति डिआईजी कृष्ण ढकाल, जिल्ला समन्वय समिति सिरहाका प्रमुख, बरियारपट्टी गाउँपालिका र औरही गाउँपालिकाका प्रमुखहरूको उपस्थिति थियो।

उद्घाटन समारोहमा मन्त्री सिंहले सशस्त्र प्रहरी परिवार महिला संघले आयोजना गरेको यस्तो कार्यक्रमले सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी परिवार महिला संघ र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता सहयोगात्मक क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताए।

कार्यक्रमकी प्रमुख आयोजक एवं सशस्त्र प्रहरी परिवार महिला संघ मधेश प्रदेशकी अध्यक्ष संगीता सुवेदीले शिविर सफल पार्न सहयोग गर्ने सम्पूर्ण निकायप्रति धन्यवाद व्यक्त गर्दै, “समुदायमा सकारात्मक सन्देश फैलाउने यस्ता कार्यक्रमहरू भविष्यमा अझ प्रभावकारी रूपमा आयोजना गरिनेछ,” भन्ने प्रतिबद्धता व्यक्त गरिन्।

शिविरमा बरियारपट्टी गाउँपालिकाका ५२२ जना स्थानीय बासिन्दाहरूले विभिन्न स्वास्थ्य सेवाहरू प्राप्त गरेका थिए।

त्यसै अवसरमा अध्यक्ष सुवेदीले सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–७ मा अवस्थित नेपाल ए.पि.एफ. ठाकोदेवी जोगेन्द्र भगत स्कुलमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूका लागि खेलकुद सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो। उक्त कार्यक्रमले विद्यार्थीहरूमा खेल भावना अभिवृद्धि गर्नुका साथै शिक्षा र अतिरिक्त क्रियाकलापहरूमा सन्तुलन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

सशस्त्र प्रहरी परिवार महिला संघले यस्ता सामाजिक उत्तरदायित्व वहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा समेत निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै २४औँ वार्षिकोत्सवलाई जनसेवामूलक भावनासहित सफल रूपमा सम्पन्न गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *