पर्सामा पत्रकारमाथि आक्रमण, दुई पत्रकार संगठनद्वारा दोषीलाई तत्काल पक्राउ गर्न माग

समाचार

वीरगञ्ज, जेठ ३० । वीरगञ्जमा समाचार संकलन गरी घर फर्किरहेका पत्रकारहरूमाथि भएको आक्रमण, लुटपाट तथा ज्यान मार्ने धम्कीको घटनाप्रति पत्रकार संगठनहरूले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव विजयकुमार महतोद्वारा जारी प्रेस विज्ञप्तिअनुसार शुक्रबार राति समाचार संकलन गरी घर फर्किने क्रममा वीरगञ्ज महानगरपालिका–१० सिर्सिया जाने बाटोमा पत्रकार सञ्जय कुशवाहा, रवि वर्णवाल र रुस्तम अली माथि १०–१२ जनाको समूहले घेराबन्दी गरी आक्रमण गरेको थियो।

पीडित पत्रकारहरूका अनुसार आक्रमणकारीहरूले उनीहरूमाथि कुटपिट गर्नुका साथै मोबाइल फोन, नगद तथा अन्य सामग्री लुटेर लगेका छन्। खुला सीमाको दुरुपयोग गरी भइरहेको चोरी पैठारी तथा तस्करीका गतिविधिबारे समाचार प्रकाशन गरेको प्रतिशोधस्वरूप आफूहरूमाथि आक्रमण भएको पत्रकारहरूको भनाइ छ।

महासंघले समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारमाथि भएको भौतिक आक्रमणलाई सम्पूर्ण सञ्चार जगतमाथिको प्रहारको रूपमा व्याख्या गर्दै घटनामा संलग्न सबै व्यक्तिलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन र कानुनी कारबाही गर्न माग गरेको छ। साथै श्रमजीवी पत्रकारहरूको सुरक्षाप्रति गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

यस्तै, हिन्दू पत्रकार संघ, नेपाल पर्सा ले पनि छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गरेको छ। संघका अध्यक्ष राजन रौनियार द्वारा जारी विज्ञप्तिमा तस्करीसम्बन्धी समाचार सार्वजनिक गरेको प्रतिशोधमा कथित तस्कर पशुपति यादव को नेतृत्वमा आएको समूहले पत्रकारहरूमाथि योजनाबद्ध आक्रमण गरेको आरोप लगाइएको छ।

विज्ञप्तिअनुसार आक्रमणकारीहरूले पत्रकारहरूलाई कुटपिट गर्नुका साथै मोबाइल फोन, नगद र सुनको सिक्रीसमेत लुटेका थिए। साथै तस्करी तथा सुरक्षाकर्मीसँगको मिलेमतोबारे समाचार बनाएको भन्दै पत्रकारहरूलाई ज्यान मार्ने धम्कीसमेत दिइएको उल्लेख गरिएको छ।

संघले घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर आक्रमण तथा पत्रकारहरूको आवाज दबाउने पूर्वनियोजित प्रयासको संज्ञा दिएको छ। साथै सीमा क्षेत्रमा हुने तस्करी र त्यससँग जोडिएका तत्वहरूको मनोबल बढ्नुमा स्थानीय सुरक्षा संयन्त्रको भूमिकामाथि समेत प्रश्न उठाएको छ।
हिन्दू पत्रकार संघले मुख्य योजनाकारसहित घटनामा संलग्न सबैलाई तत्काल पक्राउ गरी डकैती र ज्यान मार्ने उद्योगअन्तर्गत कडा कानुनी कारबाही गर्न, पत्रकारहरूको सुरक्षाको प्रत्याभूति दिन तथा तस्करीमा संलग्न रहेको आरोप लागेका सुरक्षाकर्मीमाथि उच्चस्तरीय छानबिन गर्न माग गरेको छ।

संगठनले दोषीलाई संरक्षण गर्ने वा घटनालाई सामान्य रूपमा लिन खोजिए प्रेस स्वतन्त्रताको रक्षाका लागि आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ।
दुवै संगठनले घाइते पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको निष्पक्ष अनुसन्धान र न्यायका लागि सम्पूर्ण पत्रकार, मानवअधिकारकर्मी तथा नागरिक समाजलाई ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *