वीरगञ्ज, ३० जेठ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र बहादुर बस्नेतले जिल्ला ट्राफिक कार्यालय पर्साको निरीक्षण गर्दै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
निरीक्षणका क्रममा एसपी बस्नेतले कार्यालयको मेस, ब्यारेक तथा प्रशासनिक संरचनाको अवस्थाबारे जानकारी लिँदै सम्पूर्ण प्रहरी कर्मचारीलाई आफ्नो पदीय जिम्मेवारीप्रति दत्तचित्त, अनुशासित र व्यवसायिक भएर कार्यसम्पादन गर्न आग्रह गरे।
उनले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि योजनाबद्ध र परिणाममुखी ढंगले काम गर्नुपर्नेमा जोड दिँदै ट्राफिक नियम कार्यान्वयन, जनचेतना अभिवृद्धि तथा सडक सुरक्षासम्बन्धी गतिविधिलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए।
एसपी बस्नेतले प्रहरी संगठनको छवि उच्च राख्न प्रहरी आचरणविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा त्यस्ता कार्य हुन नदिन समेत कर्मचारीहरूलाई सचेत गराएका थिए।
निरीक्षण तथा निर्देशन कार्यक्रमले ट्राफिक व्यवस्थापन, संगठनात्मक अनुशासन र सेवा प्रवाहलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
