पर्सा–बारा क्षेत्रमा सशस्त्र प्रहरीको व्यापक कारबाही, ११ लाखभन्दा बढी मूल्यका अवैध सामान र सवारी साधन बरामद

समाचार

वीरगञ्ज, असार २ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साले पर्सा र बाराका विभिन्न सीमा तथा बजार क्षेत्रहरूमा सञ्चालन गरेको विशेष निगरानी तथा चेकजाँच अभियानका क्रममा ११ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा सवारी साधन बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार असार २ गते वीरगञ्ज महानगरपालिका–१६ इनर्वा सीमा क्षेत्रमा भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरिएको मधेश प्रदेश ०३–००१ ह १९२२ नम्बरको ई–रिक्सा नियन्त्रणमा लिइएको हो। प्रहरी टोलीलाई देख्नासाथ चालक फरार भएपछि ई–रिक्सा तथा त्यसमा लोड गरिएको सामान बरामद गरिएको थियो।

बरामद गरिएका सामग्रीमा ४० हजार ८०० रुपैयाँ बराबरको अगरबत्ती बनाउने कच्चा पदार्थ, २७ हजार ५०० रुपैयाँ बराबरको केरा, ४५ हजार रुपैयाँ बराबरको माछा तथा ४ लाख रुपैयाँ मूल्यको ई–रिक्सा रहेका छन्। उक्त सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकबाट १ लाख ३० हजार ३४० रुपैयाँ बराबरका चिसो पेय पदार्थ तथा मोटरसाइकल नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको छ।

यसैबीच, विशेष सूचनाको आधारमा सीमा सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी नायब उपरीक्षक बिकास अधिकारीको नेतृत्वमा , प्रस्तावित औद्योगिक सुरक्षा बेस जितपुर तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१० नितनपुर चोकस्थित एक गोदाममा छापा मारेको थियो।

सुरेन्द्र साहको घरको सटर भाडामा लिएर सञ्चालन गरिएको उक्त गोदाममा अवैध रूपमा भन्सार छली गरी लुकाइछिपाइ राखिएको सामान फेला परेको हो।
छापामार कारबाहीका क्रममा ३ लाख २५ हजार रुपैयाँ बराबरको ४३ कार्टुन (२६२ केजी) सरबत्ती खजुर, ८ कार्टुन (९६ केजी) AFZAL Mint Tobacco तथा एक सेट गाडीको बर्नेट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

गोदामको खानतलासीका क्रममा पछाडिको कोठाबाट करिब ३ हजार रुपैयाँ बराबरको १०० लिटर घरेलु मदिरासमेत फेला परेको थियो। उक्त मदिरा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय जितपुरको जिम्मा लगाइएको छ।

यसैगरी, नं. १३ गण पर्सा मातहतका विभिन्न सीमा सुरक्षा इकाइहरूले पनि छुट्टाछुट्टै कारबाही सञ्चालन गरेका छन्। छिपरमाई गाउँपालिका–५ भिष्वा बजारस्थित सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म लहावरथकरीबाट खटिएको टोलीले १३ हजार २५० रुपैयाँ बराबरका किराना तथा विद्युतीय सामान र १ लाख २५ हजार रुपैयाँ बराबरको मोटरसाइकल बरामद गरेको छ।

त्यस्तै, बीओपी भिष्वाबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका–५ भिष्वा क्षेत्रको नेपाल–भारत सीमा इलाकाबाट ३४ हजार २६० रुपैयाँ बराबरका औषधि तथा इलेक्ट्रोनिक्स सामग्री बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले सीमा क्षेत्रमा हुने भन्सार छली, अवैध आयात–निर्यात तथा राजस्व चुहावट नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको बताए। उनले यस्ता गतिविधिविरुद्ध सशस्त्र प्रहरीको अभियान निरन्तर जारी रहने समेत जानकारी दिए।

पछिल्ला दिनहरूमा पर्सा–बारा सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीद्वारा अवैध कारोबार नियन्त्रण अभियानलाई तीव्रता दिइएको छ। नियमित गस्ती, विशेष सूचनाको आधारमा गरिने कारबाही तथा संयुक्त अपरेसनका कारण ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद हुन थालेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *