बारा, असार २ । बारा प्रहरीले ४ किलो ६०० ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायव निरीक्षक प्रकाश कुमार खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब १०ः५० बजे जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित झोलुङ्गे पुल क्षेत्रमा चेकजाँचका क्रममा ना २ ह ११६० नम्बरको अटो रोकेको थियो।
प्रहरीले अटोमा सवार एक व्यक्तिले बोकेको टाटेपाटे खैरो रंगको झोला खानतलासी गर्दा कालो प्लास्टिकले बेरेर राखिएको दुई वटा पोकाभित्र ४ किलो ६०० ग्राम गाँजा फेला पारेको जनाएको छ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–२२ चकरी निवासी ३० वर्षीय नाईस बाबु तामाङ रहेका छन्। प्रहरीले गाँजा, अटो तथा तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेका अनुसार घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको छ।
