पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ, बोलेरो पिकअप नियन्त्रणमा

समाचार

वीरगञ्ज, असार २ । पर्सा प्रहरीले १०९ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलवार दिउँसो करिब ३ बजे वीरगञ्ज महानगरपालिका–२१ स्थित ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा इलाका प्रहरी कार्यालय पोखरिया र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.१९ च ५७३८ नम्बरको बोलेरो पिकअपलाई रोकी जाँच गरेको थियो।

खानतलासीका क्रममा गाडीको पछाडिको भागमा त्रिपालले छोपेर प्लास्टिकमा बेरेर राखिएको ८ पोकामा करिब १०९ किलोग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ निवासी ३० वर्षीय चालक सुभाष थामी र सोही स्थानका २८ वर्षीय छत्रबहादुर थामीलाई पक्राउ गरिएको छ।

बरामद गाँजा, बोलेरो पिकअप तथा पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *