काठमाडौं, ५ असार । मनसुनजन्य तथा आकस्मिक विपद्का घटनामा प्रभावकारी उद्धार तथा व्यवस्थापन क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले काठमाडौं र बागमती नदी क्षेत्रमा दुईवटा महत्वपूर्ण विपद् व्यवस्थापन सिमुलेशन अभ्यास सम्पन्न गरेको छ।
काठमाडौंको टोखा स्थित चण्डेश्वरी अस्पतालको प्राङ्गणमा सशस्त्र प्रहरी बल नेपाल नं. १८ बाघभैरव गण, काठमाडौंले विभिन्न सरोकारवाला निकायहरूको सहभागितामा “सडक दुर्घटना (Road Traffic Accident) व्यवस्थापन” सम्बन्धी सिमुलेशन अभ्यास सञ्चालन गरेको हो। अभ्यासका क्रममा सडक दुर्घटनापछि घाइतेको उद्धार, प्राथमिक उपचार, घटनास्थल व्यवस्थापन तथा समन्वयात्मक उद्धार कार्यको प्रदर्शन गरिएको थियो।
त्यसैगरी, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१ र सर्लाही जिल्लाको बागमती नगरपालिका–११ नुनथर स्थित बागमती नदी क्षेत्रमा जल उत्पन्न विपद् उद्धार सिमुलेशन अभ्यास सम्पन्न गरिएको सशस्त्र प्रहरीले जनाएको छ। अभ्यासमा बाढी तथा डुबानका बेला अपनाउनुपर्ने उद्धार विधि, विपद्मा फसेकाको सुरक्षित उद्धार, उपकरणको प्रयोग तथा विभिन्न निकायबीचको समन्वयात्मक कार्यप्रणालीको अभ्यास गरिएको थियो।
सशस्त्र प्रहरी बलका अनुसार यस्ता अभ्यासहरूले विपद्को समयमा उद्धारकर्ताको तयारी, दक्षता र समन्वय क्षमता अभिवृद्धि गर्नुका साथै नागरिकको जीवन रक्षा तथा क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
मनसुन सुरु भएसँगै बाढी, पहिरो, डुबान तथा सडक दुर्घटनाजस्ता जोखिम बढ्ने भएकाले सशस्त्र प्रहरी बलले देशका विभिन्न क्षेत्रमा विपद् पूर्वतयारीका कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ।
