वीरगञ्ज, असार १४ । वीरगञ्ज महानगरपालिकाको सरसफाइ व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनीका सरसफाइ कर्मीहरूले तलब वृद्धि लगायतका विभिन्न माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्।
आन्दोलनका क्रममा सरसफाइ कर्मीहरूले वीरगञ्जको घण्टाघर चोक तथा महानगरपालिकाको मूल गेट अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन गरेका छन्। आन्दोलनका कारण शहरको सरसफाइ सेवा प्रभावित हुने संकेत देखिएको छ भने सर्वसाधारणलाई समेत असहजता हुन थालेको छ।
घटनालाई गम्भीर रूपमा लिँदै वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले तत्काल सक्रियता देखाउनुभएको छ। उहाँले सरसफाइ सेवाको ठेक्का लिएका ठेकेदार शिव गुप्तालाई सरसफाइ कर्मीहरूको जायज मागबारे तत्काल छलफल गरी यथाशीघ्र समाधान निकाल्न निर्देशन दिनुभएको छ।
कार्यवाहक नगर प्रमुख आलमले नगरवासीले कुनै सास्ती बेहोर्नु नपरोस् र नियमित सरसफाइ सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले महानगरपालिकाले आवश्यक समन्वय र पहल गरिरहेको बताउनुभएको छ। साथै, सरसफाइ सेवामा कुनै अवरोध आउन नदिन महानगरपालिका प्रतिबद्ध रहेको र आवश्यक सबै कदम चालिने उहाँले स्पष्ट पार्नुभएको छ।
महानगरपालिकाले आन्दोलनरत पक्ष र ठेकेदारबीच संवादमार्फत छिट्टै सहमति कायम हुने विश्वास व्यक्त गर्दै नगरको सरसफाइ व्यवस्थालाई नियमित बनाउन प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ।
