वीरगञ्ज, १४ असार।
पर्सामा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले एकपछि अर्को सफल अपरेशन सञ्चालन गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीको नेतृत्वमा सीमा क्षेत्रमा कडा निगरानी बढाइएपछि तस्करी संजाललाई ठूलो धक्का लागेको छ। विभिन्न नाकाबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका तथा लैजान लागिएका कुल २३ लाख ९ हजार ३०५ रुपैयाँ बराबरका अवैध सामान तथा ओसारपसारमा प्रयोग भएका सवारी साधन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार असार १४ गते वीरगञ्ज महानगरपालिका–१६ अन्तर्गत इनरुवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइ सिरसिया नदी किनारको झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा ७ लाख ७२ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका कपडा बरामद गरेको हो। बरामद सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसै दिन इनरुवा र कोनिया नाकामा परिचालित टोलीले भारतबाट अवैध रूपमा नेपाल ल्याइँदै गरेको तथा नेपालबाट भारततर्फ लैजान लागिएको ४ लाख ५२ हजार ९०५ रुपैयाँ बराबरको किराना सामान, कस्मेटिक सामग्री, मदिरा, तरकारी र स्याउ नियन्त्रणमा लिएको थियो। उक्त सामानसँगै ओसारपसारमा प्रयोग भएका एक थान ई–रिक्सा र एक थान साइकल समेत बरामद गरी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
यसअघि असार १३ गते वीरगञ्ज महानगरपालिका–१६, १७ र २१ अन्तर्गत इनरुवा, कोनिया, परवानीपुर तथा अलौ क्षेत्रबाट सीमा सुरक्षा गुल्म वीरगञ्ज र अलौबाट खटिएको संयुक्त टोलीले १० लाख ८४ हजार ४ सय रुपैयाँ बराबरका कपडा, मोबाइल टेम्पर्ड ग्लास, किराना सामान, फलफूल लगायतका सामग्री बरामद गरेको थियो। त्यस क्रममा ओसारपसारमा प्रयोग भएका एक थान टेम्पो, एक थान मोटरसाइकल र तीन थान साइकल समेत नियन्त्रणमा लिइएको थियो। ती सामान तथा सवारी साधन असार १४ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो।
यस्तै, असार १४ गते नै वीरगञ्ज महानगरपालिका–१६ का विभिन्न सीमा क्षेत्रमा डिएसपी विकास अधिकारीको कमान्डमा परिचालित सशस्त्र प्रहरी टोलीले अर्को सफल अपरेशन सञ्चालन गर्दै भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको १८ लाख ७१ हजार ६८५ रुपैयाँ बराबरका कपडा, कस्मेटिक सामग्री, फलफूल, तरकारी तथा दुई थान टेम्पो र एक थान साइकल बरामद गरेको छ। उक्त सामान र सवारी साधन पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साले सीमा क्षेत्रमा चौबीसै घण्टा निगरानी, गस्ती र सूचना परिचालनलाई प्रभावकारी बनाइएकै कारण पछिल्ला दिनहरूमा तस्करीका प्रयास लगातार असफल हुँदै गएको जनाएको छ। विशेष गरी खुला सीमालाई दुरुपयोग गर्दै हुने भन्सार छली, अवैध आयात–निर्यात तथा तस्करी नियन्त्रणमा गणले आक्रामक रणनीति अपनाएको देखिएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मोहनराज निरौलाका अनुसार विभिन्न स्थानबाट बरामद भएका अवैध सामान तथा ओसारपसारमा प्रयोग भएका सवारी साधनको कुल अनुमानित मूल्य २३ लाख ९ हजार ३०५ रुपैयाँ रहेको छ। सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए।
पर्सा जिल्लामा एसपी मोहन बहादुर क्षेत्रीको नेतृत्वमा सशस्त्र प्रहरीले पछिल्लो समय तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको छ। सीमा क्षेत्रमा नियमित गस्ती, आकस्मिक चेकजाँच तथा सूचनाका आधारमा सञ्चालन गरिएका अपरेशनका कारण तस्करी संजालमाथि निरन्तर दबाब सिर्जना भएको स्थानीय प्रशासनको पनि भनाइ छ।
