जलवायुमैत्री प्रविधिमा जोड दिँदै वीरगन्जमा भव्य रूपमा मनाइयो २३औँ राष्ट्रिय धान दिवस

समाचार

वीरगन्ज, १५ असार। वीरगन्ज महानगरपालिकाले “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा परम्परागत दही–चिउरा खाने र धान रोपाइँ कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ।

महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा भएको कार्यक्रममा कार्यवाहक नगर प्रमुख इम्तियाज आलम प्रमुख अतिथिका रूपमा सहभागी हुँदै खेतमै पुगेर धान रोपाइँको शुभारम्भ गर्नुभयो।

उहाँले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौतीको सामना गर्न आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधि अपनाउनु अपरिहार्य भएको बताउँदै उत्पादन वृद्धि र कृषिमा आत्मनिर्भरता हासिल गर्न महानगर प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। किसानहरूलाई आधुनिक प्रविधिसम्म पहुँच विस्तार गर्दै व्यावसायिक कृषिलाई प्रोत्साहन गर्ने नीति महानगरपालिकाले अघि बढाएको पनि उहाँले स्पष्ट पार्नुभयो।

स्थानीय तहमा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र परम्परागत कृषि संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा महानगरका कर्मचारी, कृषि विज्ञ, जनप्रतिनिधि तथा ठूलो संख्यामा स्थानीय कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सहभागीहरूले सामूहिक रूपमा खेतमा धान रोप्दै असार १५ को मौलिक संस्कृति जगेर्ना गरेका थिए भने दही–चिउरा खाएर एकअर्कालाई शुभकामना आदानप्रदान गर्दै राष्ट्रिय धान दिवस हर्षोल्लासका साथ मनाएका थिए।

वीरगन्ज महानगरपालिकाले यस्ता कार्यक्रममार्फत आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै किसानको उत्पादन क्षमता अभिवृद्धि र कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *