My TV लाई प्रहरीले पत्र काटेको घटनाप्रति पत्रकार महासंघ पर्साको आपत्ति, प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगर्न चेतावनी

समाचार

वीरगञ्ज, साउन ६ । नेपाल पत्रकार महासंघ पर्साले वीरगञ्जबाट प्रसारण हुने My TV लाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्र काटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले उक्त कदमलाई प्रेस स्वतन्त्रता तथा स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै तत्काल यस्ता गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

महासंघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, वीरगञ्ज महानगरपालिका–३१ का वडा अध्यक्षले जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले My TV लाई प्रसारित समाचारबारे तथ्य पेश गर्न पत्र पठाएको हो। उक्त समाचार एक महिलाको नागरिकताबाट पतिको नाम हटाइएको विषयसँग सम्बन्धित रहेको जनाइएको छ।

महासंघले कुनै समाचारप्रति असहमति वा गुनासो भएमा सर्वप्रथम सम्बन्धित सञ्चारमाध्यममा खण्डन, स्पष्टीकरण वा प्रतिक्रिया पठाउने तथा त्यसबाट पनि चित्त नबुझेमा प्रेस काउन्सिल नेपाल मार्फत कानुनी उपचार खोज्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराएको छ। यस्तो कानुनी प्रक्रिया हुँदाहुँदै प्रहरी प्रशासनमार्फत सञ्चारमाध्यमलाई पत्र काट्नु विधिसम्मत अभ्याससँग मेल नखाने महासंघको भनाइ छ।

विज्ञप्तिमा यस्ता गतिविधिले सञ्चारमाध्यममाथि अनावश्यक दबाब सिर्जना गर्ने, स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने तथा संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप गर्ने मनसाय देखिएको उल्लेख गरिएको छ।

महासंघले सञ्चारसम्बन्धी विवाद समाधानका लागि कानुनले तोकेको प्रक्रिया र अधिकारप्राप्त निकायको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ। साथै, प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास निरन्तर दोहोरिए नेपाल पत्रकार महासंघ पर्सा स्वतन्त्र प्रेसको रक्षा, पत्रकारको पेशागत अधिकारको संरक्षण तथा संविधानप्रदत्त प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ।


महासंघका सचिव विजयकुमार महतो द्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित सबै पक्षसँग अपिल गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *