वीरगञ्ज, साउन ६। पर्साको वीरगञ्ज महानगरपालिका–१ छपकैया स्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरिएको ठूलो परिमाणको कपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल पर्सा , नेपाल बोर्डर आउटपोस्ट (बिओपी) सिर्सियाबाट सशस्त्र प्रहरी निरीक्षक सम्राज खड्काको कमान्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको विभिन्न किसिमका कपडा बरामद गरेको हो।
सशस्त्र प्रहरीले बरामद गरेको कपडाको अनुमानित मूल्य ३ लाख ९२ हजार रुपैयाँ रहेको जनाएको छ।
बरामद गरिएका कपडा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ।
सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा भन्सार छली नियन्त्रण अभियानलाई सशस्त्र प्रहरीले निरन्तर कडाइका साथ अघि बढाउँदै आएको जनाएको छ।
