बारा, साउन ७। बाराको सिम्रौनगढ नगरपालिका–६ पावरहाउसस्थित पर्साटोल क्षेत्रमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारपछि घर फर्काउने क्रममा बाटोमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बिहान करिब ११ः३० बजे पर्साटोलबाट इटवालतर्फ जाँदै गरेको भारतीय नम्बर BR AD 5642 को मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सिम्रौनगढ–७ पर्साटोल निवासी ६० वर्षीया सायबुन खातुन गम्भीर घाइते भएकी थिइन्। उनको टाउको र दाँतमा गम्भीर चोट लागेको थियो। तत्काल उनलाई वीरगञ्जस्थित NMC अस्पतालमा उपचारका लागि लगिएको थियो।
मोटरसाइकल चालक उनका करिब २५ वर्षीय छोरा तबरेज अन्सारी भने सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने मोटरसाइकलका कागजात खुल्न बाँकी छन्। दुर्घटनापछि मोटरसाइकल चालकले सवारीसाधन आफ्नो घरमा लगेर राखेका थिए।
उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार नआएपछि साँझ करिब ५ः४५ बजे आफन्तले एम्बुलेन्समार्फत उनलाई घर लैजाँदै गर्दा साँझ ६ बजे बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको नेतृत्वमा मुचुल्का टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
