बारा, १४ पुस ।
जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ११ स्थित बकुलिया-रमौली सडक खण्डको छेउमा ग्रे रंगको बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको EV कारभित्र एक व्यक्तिको शव फेला परेको घटनामा तीनजना पक्राउ परेका छन्।
मृतक राजकुमार रुम्बा, जो सिमरा विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी कार्यालय सहयोगी थिए, टाउकोमा गोली लागेको अवस्थामा पुस ६ गते मृत भेटिएका थिए। शव परीक्षणबाट उनको मृत्युको कारण Gunshot injury to the head रहेको पुष्टि भएको बारा प्रहरीले जनाएको छ।
प्रहरीको अनुसन्धानबाट घटनामा संलग्न तीनजना पक्राउ परेका छन्। उनीहरूको विवरण यसप्रकार छः
१. पुरुषोत्तम कुमार दास बर्ष २७ को, जय माँ इन्जिनियरिङ वर्कसपका संचालक।
२. ईन्द्रजित कुमार चौहान वर्ष २० को
३. श्रीकान्त तिवारी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत।
अनुसन्धानका क्रममा निम्न प्रमाणहरू बरामद गरिएका छन्:
१. मृतकको सुनको सिक्री, पुरुषोत्तम कुमार दासको वर्कसपबाट।
२. मृतकको पर्स, पुरुषोत्तम कुमार दासको झोलाबाट।
३. संकास्पद व्यक्तिहरूको साथबाट ६ वटा मोबाइल।
४. पुरुषोत्तम कुमार दासको प्रयोगमा रहेको यमाहा मोटरसाइकल (ना १३ प ५४७)।
प्रारम्भिक अनुसन्धानले घटनाको कारण पुरानो रिसइवी र चोरी (लुटपाट) रहेको देखाएको छ। पक्राउ परेका तीनजनालाई बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
