वीरगञ्ज, ३० बैशाख ।
जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा नवनिर्मित “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र” भवनको समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाल प्रहरी संगठनलाई प्रविधिमैत्री तथा सेवामुखी बनाउने अभियानअन्तर्गत बेलायत सरकार तथा (UNOPS) को सहयोगमा निर्माण गरिएको उक्त भवनको उद्घाटन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले गर्नुभएको हो।
बैशाख ३० गते आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालयका उच्च अधिकारी, जिल्ला सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, समाजसेवी, महिला अधिकारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई न्यायमा सहज पहुँच दिलाउन यस्ता सेवा केन्द्रहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले पीडितमैत्री वातावरणमा सेवा प्रवाह गर्न आधुनिक पूर्वाधार आवश्यक रहेको उल्लेख गर्दै नयाँ भवनले सेवाग्राहीलाई थप सहज र सुरक्षित वातावरण प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा पर्सा प्रहरीले पछिल्लो समय जिल्लामा अपराध नियन्त्रण, समुदाय–प्रहरी साझेदारी तथा महिला तथा बालअधिकार संरक्षणका क्षेत्रमा प्रभावकारी काम गरिरहेको उल्लेख गरिएको थियो। विशेष गरी घरेलु हिंसा, बालअधिकार उल्लंघन तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीलाई संवेदनशील ढंगले सम्बोधन गर्न छुट्टै सेवा केन्द्र आवश्यक रहेको भन्दै नयाँ भवन निर्माणलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्दै संगठनको प्रतिष्ठा बढाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी कार्यालय सहयोगी सुरज मेस्तरलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले उहाँलाई प्रशंसा पत्र हस्तान्तरण गर्दै आगामी दिनमा अझ जिम्मेवार र समर्पित भएर काम गर्न शुभकामना व्यक्त गर्नुभयो।
पर्सा प्रहरीले जनाएअनुसार प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गर्ने परम्पराले संगठनभित्र सकारात्मक प्रतिस्पर्धा र सेवाप्रतिको उत्तरदायित्व अझ मजबुत बनाएको छ।
नवनिर्मित सेवा केन्द्र सञ्चालनमा आएपछि महिला हिंसा, बाल संरक्षण, ज्येष्ठ नागरिक सुरक्षा तथा सामाजिक न्यायसँग सम्बन्धित सेवाहरू थप प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बन्ने अपेक्षा गरिएको छ।
