वीरगञ्ज–रक्सौल मितेरीपुल क्षेत्रमा लागू औषध विरुद्ध सचेतना अभियान

समाचार

*अटो चालकहरूलाई लक्षित गर्दै सशस्त्र प्रहरी र सामुदायिक प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न*

वीरगञ्ज, ३० वैशाख । सीमावर्ती क्षेत्रमा बढ्दो लागू औषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले वीरगञ्जमा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्ज, पर्सा र ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरको संयुक्त आयोजनामा वीरगञ्ज–रक्सौल मितेरीपुल क्षेत्रमा लागू औषध दुर्व्यसन रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको हो।

बुधबार अन्दाजी ४:४० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ मितेरी पुलस्थित सीमा सुरक्षा पोष्टमा आयोजित उक्त कार्यक्रममा सीमावर्ती क्षेत्रमा दैनिक रूपमा आवतजावत गर्ने अटो रिक्सा चालकहरूलाई लक्षित गरी लागू औषधको दुष्प्रभाव, यसको सामाजिक असर, कानुनी परिणाम तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी बिकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रहरी चौकी ईनरुवाका प्रहरी नायब निरीक्षक राजकुमार घलान, भारतीय समकक्षी एसएसबीका प्रतिनिधि, सामुदायिक प्रहरीका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, समाजसेवी, पत्रकार, कर्मचारी, भद्रभलाद्मी तथा अटो रिक्सा चालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी बिकाश अधिकारीले लागू औषध दुर्व्यसन अहिले समाजका लागि गम्भीर चुनौतीको रूपमा देखा परेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा विशेष सतर्कता र जनचेतना आवश्यक रहेको बताए। उनले सीमाक्षेत्र लागू औषध ओसारपसारको संवेदनशील मार्ग बन्न सक्ने भएकाले समाजसँग प्रत्यक्ष जोडिएका अटो चालकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

“अटो चालकहरू दिनहुँ सयौं मानिससँग सम्पर्कमा हुन्छन्। समाजमा हुने शंकास्पद गतिविधिबारे जानकारी प्रहरीसम्म पुर्‍याउन उनीहरूको सहयोग आवश्यक छ,” उनले भने, “लागू औषधमुक्त समाज निर्माणका लागि प्रहरी, समुदाय र नागरिकबीचको सहकार्य अझ सशक्त हुनुपर्छ।”
त्यसैगरी कार्यक्रमका अध्यक्ष जयप्रकाश खेतानले युवापुस्तामा बढ्दो दुर्व्यसन सामाजिक विकृतिको मुख्य कारण बन्दै गएको भन्दै समुदायस्तरमै सचेतना विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले समाजलाई सुरक्षित, स्वस्थ र सभ्य बनाउन यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

कार्यक्रममा सहभागी अटो चालकहरूलाई लागू औषध सेवन तथा ओसारपसारमा संलग्न भएमा हुने कानुनी कारवाही, स्वास्थ्यमा पर्ने गम्भीर असर तथा परिवार र समाजमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराइएको थियो। साथै सीमावर्ती क्षेत्रमा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको आयोजकले जनाएको छ।
वीरगञ्ज–रक्सौल मितेरीपुल क्षेत्र नेपाल–भारत आवतजावतको मुख्य नाका भएकाले यस क्षेत्रमा हुने गतिविधिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी र सामुदायिक प्रहरीद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको उक्त कार्यक्रमलाई स्थानीय स्तरमा सकारात्मक रूपमा हेरिएको छ। सहभागी अटो चालकहरूले पनि यस्तो कार्यक्रमले आफूहरूलाई सचेत र जिम्मेवार बन्न प्रेरणा दिएको प्रतिक्रिया दिएका थिए।

लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सुरक्षा निकायले पछिल्लो समय सीमावर्ती क्षेत्रमा निगरानी, जनचेतना तथा समुदायसँगको सहकार्यलाई तीव्रता दिँदै आएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *