नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका युवक रक्सौलबाट पक्राउ, मानव तस्करीको घटना सार्वजनिक

समाचार

बिरगंज, ६ असार । काठमाडौंकी १३ वर्षीय एक नेपाली नाबालिकालाई ललाई–फकाई भारतको राजधानी दिल्ली लैजाँदै गरेका शेख रिजवान आलम नामक युवकलाई भारतीय सुरक्षाकर्मीहरूले रक्सौल सीमा क्षेत्रबाट पक्राउ गरेका छन् ।

भारत बिहार राज्यको पूर्वी चम्पारण निवासी शेख रिजवान आलमले ‘स्टार मेकर’ एपमार्फत नाबालिकासँग मित्रता गरी विवाह गर्ने र राम्रो जागिर लगाइदिने प्रलोभन देखाई दिल्ली लैजाँदै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी), जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त टोलीले रक्सौल कस्टम नजिकबाट नियन्त्रणमा लिएको हो ।

नेपाली पहाडी मूलकी किशोरी र मधेशी मूलका युवक सँगै रहेको देखेपछि शंका लागेर जाँच गर्दा मानव तस्करीको घटना सार्वजनिक भएको बताइएको छ । किशोरीका अनुसार, स्टार मेकर एपमार्फत आलमसँग भएको मित्रता पछि प्रेम सम्बन्धमा परिणत भएको थियो र उनीहरू काठमाडौँमा दुई पटक भेटसमेत भएका थिए ।

भारतीय मानव तस्करी नियन्त्रण इकाईले किशोरीलाई सुरक्षित स्थानमा राखेको र शेख रिजवान आलमलाई आवश्यक कारबाहीका लागि रक्सौलस्थित हरैया थानामा बुझाएको जनाएको छ । मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातका अनुसार आलममाथि एफआईआर दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।

उनले सीमानाकामा खटिएका नेपाली सुरक्षाकर्मी र विभिन्न गैरसरकारी संघसंस्थाहरूलाई विशेष चनाखो हुन आग्रह गरेका छन् । पछिल्लो समय नेपाली बालिका र किशोरीहरूलाई विभिन्न प्रलोभन देखाई भारतका विभिन्न राज्यहरूमा लैजाने घटना बढिरहेकाले सीमा क्षेत्रमा अझ कडाइ र सतर्कताको आवश्यकता रहेको प्रहरी प्रमुख प्रभातले बताए ।

केही दिनअघि मात्र बारा सिम्रौनगढकी एक किशोरीलाई ललाई–फकाई भारत लैजाँदै गर्दा सीमा क्षेत्र जमुनिया क्याम्पका एसएसबी गस्ती टोलीले पक्राउ गरी रौतहटस्थित प्रहरी चौकी बंकुलको जिम्मा लगाएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *