काठमाडौं,१० चैत । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै गृहमन्त्रीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रशंसा–पत्र प्रदान गरेका छन्।
गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्रीले निर्वाचन अवधिभर सुरक्षा व्यवस्था प्रभावकारी बनाउँदै समग्र निर्वाचन प्रक्रियालाई व्यवस्थित र निष्पक्ष बनाउन प्रहरी संगठनले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए। उनले देशभर सुरक्षाको समुचित प्रबन्ध मिलाई मतदाता, कर्मचारी तथा सरोकारवालाको सुरक्षामा नेपाल प्रहरी सफल भएको उल्लेख गरे।
प्रशंसा–पत्र ग्रहण गर्दै प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन खटिएका सम्पूर्ण प्रहरी कर्मचारीको योगदान सराहनीय रहेको बताए। उनले आगामी दिनमा पनि संगठनले कानून कार्यान्वयन र नागरिक सुरक्षामा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचनको समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायबीच समन्वयात्मक रूपमा परिचालन गरिएको थियो। सुरक्षा निकायको सक्रियताकै कारण देशभर कुनै ठूला अप्रिय घटना बिना निर्वाचन सम्पन्न भएको सरकारी अधिकारीहरूले जनाएका छन्।
