काठमाडौंमा चोरीका गरगहना, नगद र हतियारसहित दुई पक्राउ

समाचार

काठमाडौं, १० चैत । काठमाडौं महानगरपालिका–५ कालोपुलस्थित लामा गल्लीमा डेरा गरी बस्दै आएका व्यक्तिको कोठाबाट सुन, चाँदीका गरगहना तथा नगद चोरी गर्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८२ चैत ६ गते उक्त डेरा कोठामा रहेको काठको दराजबाट अन्दाजी २६ तोला ८ आना सुनका गरगहना, करिब ३३ हजार रुपैयाँ बराबरका चाँदीका सामग्री, भारतीय रुपैयाँ १० हजार तथा नेपाली रुपैयाँ ४५ हजार चोरी भएको सूचना प्राप्त भएको थियो। सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मिति २०८२ चैत ७ गते राति करिब ९:५० बजे घटनामा संलग्न दुई जनालाई चोरीका सामानसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगंगा नगरपालिका–२ घर भएका २६ वर्षीय निरज सापकोटा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट विभिन्न प्रकारका सुन तथा चाँदीका गरगहना, नगद तथा हतियार बरामद गरेको जनाएको छ। बरामद गरिएका सामानमा सुनजस्तो देखिने तिलहरी ३ थान, सिक्री १, नेक्लेस १, बाला ३, झुम्का १ जोर, नौगेडीका गोटी ८, जन्तर १, साना टुक्रा २५, फुली १ थान रहेका छन्। त्यस्तै चाँदीजस्तो देखिने बाला २, सानो थाली १, पाउजु १ जोर, औंठी २ थान तथा धातुका चुरा २ थान पनि बरामद गरिएको छ।

यसैगरी, उनीहरूको साथबाट खुकुरी १ थान, फलामको रड २ थान, करिब २.८ फिट लम्बाइको तरबार १ थान र नेपाली रुपैयाँ २ लाख ४९ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ। चोरीमा प्रयोग गरिएको होण्डा कम्पनीको स्कुटर १ थान समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *