रौतहट, साउन ८ । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।
जिल्ला प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ ईटहर बेलाही टोल घर भई हाल गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि आक्रोशित स्थानीयवासीले आरोपित उपेन्द्रमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
