एसपी भट्टको नेतृत्वमा सशस्त्र प्रहरीले रु.२२ लाखभन्दा बढीको सामान भन्सारमा बुझायो

समाचार

पर्सा, ३ भदौ।
सशस्त्र प्रहरी बल पर्साले अवैध सामान नियन्त्रण गरी करिब रु.२२,४१,२४०।- बराबरको सामान भन्सारमा बुझाएको छ।

सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी पुरनचन्द्र भट्टको नेतृत्वमा खटिएको टोलीले मिति २०८२।०५।०२ गते पर्साका विभिन्न सिमानाबाट नियन्त्रण गरिएका सामान तथा सवारीसाधन भन्सारमा बुझाएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले भन्सार मूल्य रु.११,८३,०००।- बराबरको सवारीसाधनका इञ्जिन स्पेयर पार्टस नियन्त्रण गरी बीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

त्यसैगरी, नं.१३ गणको विशेष सूचनाका आधारमा गुल्म बीरगंज र भन्सार कार्यालयको संयुक्त टोलीले गोपालजी साहको घरबाट कपडा तथा वडा नं.१० आदर्शनगरस्थित एक घरबाट किराना सामान बरामद गरेको हो। यी सामानको मूल्य रु.३,६०,६३०।- रहेको छ।

मिति २०८२।०५।०३ गते गुल्मबाट खटिएको अर्को टोलीले प्रदेश ००१ ह १२२४ नम्बरको ई–रिक्सामा नगुवातर्फ लैजाँदै गरेको ६१५ लिटर घरेलु मदिरा (रक्सी) नियन्त्रणमा लिएको छ। बरामद गरिएको रक्सीको मूल्य रु.६१,५००।- रहेको छ भने सोही क्रममा प्रयोग भएको ई–रिक्सा रु.२,५०,०००।- सहित चालक कृष्ण पटेललाई समेत नियन्त्रणमा लिइएको छ।

यस्तै, सोही गुल्म मातहतको बिओपी ड्राईपोर्ट टोलीले बीरगंज म.न.पा.–२५ सिर्सियाबाट रु.१८,११०।- बराबरको कपडा नियन्त्रण गरी भन्सारमा बुझाएको छ।

त्यसैगरी, सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले बीरगंज म.न.पा.–१७ आईसीपी गेट नजिकै भारतबाट भन्सार छली ल्याउँदै गरिएको रु.४,२९,५००।- बराबरको मोबाइल पार्टस बरामद गरी बीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

उक्त जानकारी सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्णसिंह पुजाराले दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *