भन्सार छलीका ई-लोडर, मोटरसाइकल र साइकलसहित २१ लाख ३९ हजार रुपैयाँभन्दा बढीका सामान सशस्त्र प्रहरी पर्साद्वारा बरामद

समाचार

वीरगञ्ज, साउन ८ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले पर्साका विभिन्न सीमा नाकाबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका रु. २१ लाख ३९ हजार ६५५ बराबरका ई-लोडर, मोटरसाइकल, साइकल तथा विभिन्न सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१७ अलौस्थित सीमा सुरक्षा गुल्मबाट खटिएको मोबाइल टोलीले भारतबाट भन्सार छली ल्याइँदै गरेको प्र.२-०३-००१ स ६०९७ नम्बरको ई-लोडरमा रहेको ८ कार्टुन भिटामिन औषधि तथा ना २६ प २०१८ नम्बरको मोटरसाइकलमा ल्याइएको किराना सामान बरामद गरेको हो।

बरामद औषधिको मूल्य रु. १२ लाख ७५ हजार, किराना सामान रु. ३१ हजार ९१५, ई-लोडर रु. ४ लाख र मोटरसाइकल रु. २ लाख गरी जम्मा रु. १९ लाख ६ हजार ९१५ बराबर रहेको प्रहरीले जनाएको छ।

यस्तै, वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेटस्थित चेकपोस्टमा खटिएको टोलीले विभिन्न सवारीसाधन जाँचका क्रममा बिलबिजक नभएका ESSDEE ब्रान्डका कपडा, स्टेशनरी तथा हार्मोनियम सहित रु. १ लाख ४५ हजार ४०० बराबरका सामान बरामद गरेको छ।

त्यसैगरी, बिन्दवासिनी गाउँपालिका–३ झौवागुठीस्थित बीओपी अमरपट्टीबाट खटिएको टोलीले चार वटा साइकलमा भन्सार छली गरी ल्याइँदै गरेको मोटर पार्ट्स, कपडा र किराना सामानसहित रु. ५५ हजार २०० बराबरका सामान बरामद गरेको छ।

यस्तै, छिपहरमाई गाउँपालिका–५ भिष्वास्थित बीओपी भिष्वाको टोलीले रु. ३२ हजार १४० बराबरका कस्मेटिक तथा किराना सामान बरामद गरेको जनाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *