सिराहामा प्रहरीको गोली प्रहारपछि खैरो हेरोइनसहित ६ जना पक्राउ

समाचार

काठमाडौं, साउन ८ ।लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सिराहाको लहान नगरपालिका–३ अस्पताल चोकबाट २४३ ग्राम खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको जनाएको छ।

ब्यूरोका अनुसार भारतबाट नेपालतर्फ खैरो हेरोइन ओसारपसार तथा बिक्री–वितरणमा संलग्न रहेको सूचनाका आधारमा निगरानी गरिरहेको प्रहरी टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रतिवादीहरूले प्रहरीमाथि आक्रमण गरेका थिए।

प्रहरीले सुरुमा ५ राउन्ड हवाई फायर गरी चेतावनी दिएको भए पनि उनीहरू नरोकिएपछि आत्मरक्षाका लागि गोली चलाइएको जनाइएको छ। गोली लागेर सप्तरी रुपनी गाउँपालिका–१ का ४० वर्षीय मो. नसिर को बायाँ खुट्टा र भारत, बिहारका २२ वर्षीय बिद्यानन्द यादव को दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। दुवै घाइतेको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ।

यस घटनामा भारत, बिहारका बिद्यानन्द यादवसहित सप्तरीका मो. नसिर, शम्भु प्रसाद यादव, मो. जमाहिर आलम, बैधनाथ प्रसाद यादव र मो. इमामुदिन पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट २४३ ग्राम खैरो हेरोइन, दुईवटा मोटरसाइकल (स ३ प ८१८५ र स ११ प ८०५ नम्बर) तथा सात थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

घटनामा पक्राउ परेका चार जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहान, सिराहामा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोका सह–प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *