रुपन्देही, साउन ८ ।रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय सरोज चौधरी रहेका छन्। बिहीबार बिहान करिब ७ बजे उनी आफ्नै घरको सिँढीबाट लड्दा जमिनमा रहेको चक्कुले ढाडमा चोट लागेर घाइते भएको भन्ने सूचना मणिग्रामस्थित क्रिमसन अस्पतालबाट प्रहरीलाई प्राप्त भएको थियो।
तर घटनास्थलमा पुगेर प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट भने वास्तविकता फरक रहेको खुल्यो। अनुसन्धानका क्रममा घरायसी विवाद हुँदा सरोजमाथि उनका बाबु सहसराम चौधरी (अन्दाजी ४५ वर्ष) ले चक्कु प्रहार गरेको तथ्य बाहिर आएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते सरोजलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको थियो। उपचारकै क्रममा बिहीबार साँझ करिब ४:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न सहसराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
