वीरगञ्ज, ३० वैशाख । राजस्व चुहावट मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फैसला कार्यान्वयन टोलीले मिति २०८३ वैशाख ३० गते दिउँसो करिब २:३० बजे लुकिछिपी बस्दै आएका फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा साविक बेल्वा गाविस वडा नं. ५ हाल वीरगञ्ज महानगरपालिका वडा नं. ३१ निवासी ४२ वर्षीय प्रबिन्द्र साह गोढ रहेका छन्। उनलाई सम्मानित पर्सा जिल्ला अदालतको फैसलाले राजस्व चुहावट मुद्दामा ६ महिना कैद सजाय तथा ३ करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवाना तोकेको थियो।
प्रहरीले पक्राउपछि उनलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार फरार प्रतिवादीहरूको खोजी तथा फैसला कार्यान्वयन अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइएको छ।
