बारा,११ पुस ।
बारा प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका-७ स्थित जीतपुर चोकबाट ३० लाख ६७ हजार ७९६ रुपैयाँ बराबरका सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।
पुस ९ गते राति ८:४५ बजे इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी नायब निरीक्षक मोह नारायण रायको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाडौं जाँदै गरेको ना ४ ख ३९८४ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा बिलभन्दा बढी समान फेला परेको थियो। चालकले सामानको स्रोत खुलाउन नसकेपछि प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
ट्रकमा कपडा, चना, ब्याट्री, थर्मोकोलका दाना र अन्य खुद्रा सामान लोड गरिएको थियो। प्रहरीले ट्रक र सामानलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।
